झुक्याई–झुक्याई कर्णेलको पार्टीमा हिरोइन

Unknown | 04:50 | 0 comments

काठमाडौं - निम्तोबिनै निजी भोज! राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी कलाकार त्यतिबेला तीनछक परे, जब उनीहरूलाई आयोजक चलचित्र विकास बोर्डका सदस्यले नै झुक्याई–झुक्याई नेपाली सेनाका कर्णेलको निजी पार्टीमा पुर्‍याइए । महोत्सवस्थलबाट पाँच किमी टाढा रिसोर्टमा मदिराले लट्ठ जमातबीच पुर्या्इएका नायिकाहरु नाक थुन्दै थिए भने, नायकहरू अकमक्क। बल्ल थाहा पाए, पार्टी त पूर्वी पृतना इटहरी राजदल गणका गणपति कर्णेल महेशशमशेर जबराको निजी आयोजना पो रहेछ। घटना शनिबार साँझको हो। धरानमा सोही दिन महोत्सव उद्घाटन भयो। खाना खुवाउन र धरान अवलोकन गराउन भन्दै आयोजकले अभिनेता भुवन केसी, शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, दीपकराज गिरी, राजबल्लभ कोइराला, अभिनेत्रीहरु झरना थापा, अशिष्मा नकर्मी, निश्मा घिमिरे, नीता ढुंगाना, अनु शाह, श्वेता खड्का, सुस्मिता कार्की, कलाकारहरु शिव परियार, सुष्मा कार्की, सोभित श्रेष्ठ, सुनिलकुमार थापालगायतलाई गाडीमा राखेर कुदाए। आयोजकले उनीहरुलाई रत्नापट होटलमा बस्ने व्यवस्था गरेका थिए, स्विमिङ पुलमा खाने। स्विमिङ पुलमा खाना खाने तर्खर गरिरहेका कलाकारलाई आयोजकले 'यहाँ होइन, तपाईंलाई माथि विशेष व्यवस्था छ' भन्दै गाडी चढाएका थिए। हिरोहिरोइन लिएर गएका आयोजकहरु भने बीचैमा ओर्लिएपछि उनीहरु आत्तिए। स्विमिङपुलबाट पाँच किमि टाढा धरान–१४ विजयपुरस्थित हुक्पा चोङवाङ रिसोर्टमा आयोजित कर्णेलको पार्टीमा धरानका चर्चित व्यापारी, सैनिक अधिकारी र राजनीतिक व्यक्तित्व बाक्लै थिए। आयोजकले महोत्सवमा सहभागी सबै कलाकारलाई भने भोजमा लगेनन् । दिनभरको भोकले लखतरान धेरैजसो कलाकारले स्विमिङपुलमै खाना खाइसकेका थिए। 'आयोजकका प्रकाश सुवेदीले हाम्रो खाना यो होइन भनेपछि दुई साथीले खानुभएन। मैले खाए पनि साथीहरुसँगै पछि लागेँ,' अभिनेत्री निश्मा घिमिरेले भनिन्, 'अग्रज पनि सँगै भएकाले खासै ध्यान दिएनौं। पछि पो थाहा भयो, त्यो त प्राइभेट भोज रहेछ।' कलाकारलाई बाटोमा अलपत्र पारेर आयोजक बेपत्ता भएको उनले बताइन्। 'उनीहरुले खाना खाएपछि हामी नौ बजेतिर सानो कारमा होटल फर्कियौं,' उनले भनिन्। अभिनेत्री अनु शाहलाई सन्चो थिएन। 'ज्वरो आएकाले खाना खाएर सुत्न चाहन्थेँ। आयोजकले अर्को खाना तयार गरेको भनेकाले गएँ,' अनुले भनिन्, 'आयोजकका निलहरि काफ्लेलाई भनेपछि होटल ल्याइदिनुभयो।' आयोजकसँग नजिक मानिएका अभिनेत्री रेखा थापा, सुमिना घिमिरेलगायतलाई भने पार्टीमा लगिएन। अभिनेत्री अशिष्मा नकर्मीले नराम्रो व्यवस्थापनले कलाकारलाई प्रयोग गरेर फाइदा लिएको आरोप लगाइन्। 'हामीले स्विमिङ पुलमा खाना खाइसकेका थियौं। प्राइभेट पार्टी रहेछ, सबै ड्रिंक गरेर आ–आफ्नो तालमा थिए। त्यहाँको दृश्य देख्दा असह्य भयो,' उनले भनिन्। बोर्ड सदस्य निलहरि काफ्लेले कलाकारलाई आफैंले 'फ्रेस बनाउन' रिसोर्ट लगेको बताए। 'रिसोर्टमा कसैको प्राइभेट भोज भइरहेको थियो। हामीचाहिँ खाना खान छुट्टै बसेका थियौं,' उनले भने। अघिल्लो दिन ढिलो पुगेकाले कलाकारलाई धरान घुमाउन नपाएको उनले जानकारी गराए। 'प्राइभेट भोजमा हरेक प्रकारका मानिस भेट हुन्छ। ड्रिंक गरेर बसेकालाई हामीले चिनेका थिएनौं। कलाकारहरु किन आक्रोशित भए, थाहा भएन,' उनले भने। « रेखाले भनिन्- 'चुनाव उठे प्रत्यक्षबाटै'

Category:

0 comments