एक करोड चार लाख ७५ हजार ८८ रुपैयाँ भ्रष्टाचार गरी फरार रहेकी महिला पक्राउ

Unknown | 08:23 | 0 comments

काठमाडौं : एक करोड चार लाख ७५ हजार ८८ रुपैयाँ भ्रष्टाचार गरी फरार रहेकी एक महिलालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । कमसल जग्गा धितोमा राखेर बैंकबाट ऋण लिई नतिर्ने धादिङ घर भएकी ४१ की विश्वप्रिया मल्ललाई प्रहरीले बिहीबार काठमाडौं शंखमुलबाट पक्राउ गरेको हो । विशेष अदालतले भ्रष्टाचार मुद्दामा २०६२ कात्तिक १३ गते विश्वप्रियालाई एक करोड चार लाख ७५ हजार ८८ रुपैयाँ ३६ पैसा जरीवाना हुने फैसला गरेको थियो ।

धादिङ नलाङ्ग–३ स्थायी घर भई शंखमुलमा बस्दै आएकी विश्वप्रियालाई पक्राउ गरी बिहीबार नै जिल्ला अदालत काठमाडौंमा पेस गरिएको व्युरोका प्रहरी उपरीक्षक अरुणकुमार बीसीले धर्तीआवाजलाई जानकारी दिनुभयो । विश्वप्रिया र गेहेन्द्र मल्लले नेपाल बैंक लिमिटेडकबाट कमसल धितो राखेर हाइपोथीकेशन कर्जा लिई बैंकलाई नतिरेको अभियोग छ । उनीहरुले २०५५ देखि २०५८ साल सम्म गरी दुई करोड नौ लाख ५० हजार नौ सय ७६ रुपैयाँ ७२ पैसा ऋण लिएका थिए । उक्त ऋण प्रवाहमा नेपाल बैंक लिमिटेड काठमाडौंका पूर्वनायव महाप्रबन्धकसहित बैंक कर्मचारीको पनि मिलोमतो रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । पीजी स्टोर र सानिमा फर्निचर उद्योगकी प्रोप्राइटर रहेकी विश्वप्रियाले हुँदै नभएको स्टक देखाई कम मूल्यको कमसल जग्गा धितो राखेर कृतिम रुपमा अत्याधिक बढी मूल्यांकन गराएकी थिइन् । उनीहरुले बैंकलाई डुबाउने मनसायले ऋण लिएको देखिएको व्युरोका प्रहरी उपरीक्षक बीसीले बताउनुभयो । बीसीका अनुसार यसअघि सोही मुद्दाका अर्का प्रतिवादी गेहेन्द्रलाई ब्युरोले २०६७ चैत ३ गते पक्राउ गरेको थियो । भिडियो हेर्नुहोस्

Category:

0 comments